बेंग्लोरविरुद्ध चेन्नाईको रोमाञ्चक जित


५ बैशाख २०८०, मंगलवार
IPL1681754152

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध आठ रनको रोमाञ्चक जित निकालेको छ ।

सोमबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याउने क्रममा बेंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । बेंग्लोरका ग्लेन म्याक्सवेलले ३६ बलमा तीन चौका र आठ छक्कासहित ७६ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।

कप्तान फाफ डुप्लेसिसले ३३ बलमा पाँच चौका र चार छक्कासहित ६२ रन थपे । १५–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटका लागि १२६ रनको साझेदारी गर्दै टिमको इनिङ उकासेका थिए । तर, त्यसपछिका ब्याटर नचल्दा बेंग्लोरले हारको नतिजा आत्मसाथ गर्‍यो । यसबाहेक, बेंग्लोरका दीनेश कार्तिकले २८, सुयास प्रभुदेसाईले १९ र सहबाज अहमेदले १२ रन बनाए ।

चेन्नाईका तुसार देशपान्डेले तीन विकेट लिए । मथिसा पथिरानाले दुई विकेट लिँदा मोइन अलि, महिस थिक्षणा र आकाश सिंहले समान एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका डेविड कोन्वेले ४५ बलमा समान ६ चौका र छक्काको सहयोगमा ८३ रन बनाएका थिए । सिवम दुबेले २७ बलमा दुई चौका र पाँच छक्कासहित ५२ रन जोडे । मोइन अलिले अविजित १९ रन थप्दा अम्बती रायडुले १४ र रविन्द्र जडेजाले १० रन बनाए ।

बेंग्लोरका मोहम्मद सिराज, वाइन पर्नेल, विजयकुमार व्यासक, ग्लेन म्याक्सवेल, वनिन्दु हसरंगा र हर्षल पटेलले समान एक विकेट लिए । जितसँगै पाँच खेलबाट ६ अंक जोेडेको चेन्नाई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको बेंग्लोर तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७