नेपाललाई मलेसियाले दियो २३६ रनको चुनौती


५ बैशाख २०८०, मंगलवार
cri

काठमाडौं । कप्तान अहमद फैज र विरनदीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई २३६ रनको चुनौती दिएको छ । मलेसियाले तुलनात्मक रूपमा बलियो मानिएको नेपालविरुद्ध राम्रो स्कोर बनाएको हो ।

सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपको छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २३५ रन बनायो । कप्तान अहमद फैजले ७६ रन बनाए । उनले ९५ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । उनले विरनदीप सिंह दोस्रो विकेटमा ११६ रनको साझेदारी गरे । विरनदीप भने अर्धशतक बनाउन चुके । उनले ९४ बल खेल्दै ४६ रन बनाउनेक्रममा २ चौका प्रहार गरे ।

मोहम्मद अमिरलाई १८ रनमा गुलशन झाले आउट गरेपछि फैज र विरनदीपको जोडी जमेको थियो । फैजलाई आउट गरेपछि नेपालले नियमित जस्तो विकेट लिन सुरु गरेको थियो । विजय युनी १२ र सैयद अजिज १३ रनमा आउट भए ।

सोमपाल कामीले लगातार बलमा खिजार हायत र फिर्ती सामलाई आउट गरे । हायतले २५ बल खेली १ चौका र १ छक्कासहित २२ रन बनाए । नेपालबाट सोमपाल र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ८ ओभरमा ३२ र सन्दीपले १० ओभरमा ४७ रन खर्चे । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २–२ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७