एसीसी प्रिमियर कप : नेपालले मलेसियालाई ६ विकेटले हरायो

भीम र कुशलको अर्धशतक


५ बैशाख २०८०, मंगलवार
cricket win

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शानदार विजय सुरुवात गरेको छ । नेपालले आज (मंगलबार) को पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १-१ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र गुलसन झाले १ विकेट लिए ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७