म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा


११ बैशाख २०८०, सोमबार
Fua50NjXoAEBLYB1682301904 scaled

काठमाडौं । म्यानचेस्टर युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगको अर्को क्लब ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७–६ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । योसँगै एफए कपको उपाधि भिडन्त म्यानचेस्टर ‘डर्बी’ मा हुने भएको छ ।

निर्धारित ९० मिनेटको समय बराबरीमा सकिएपछि खेल थप समयमा थकेलिएको थियो । थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो । पेनाल्टी सुटआउटमा दुवै टिमबाट सुरुका ६ खेलाडीले गोल गरेका थिए । ब्राइटनबाट सातौँ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका सोले मार्चको प्रहार आकाशिएको थियो । त्यसपछि भिक्टर निल्सन लिन्डेलफले गोल गरेपछि युनाइटेड फाइनलमा स्थान बनाउन सफल भएको हो ।

‘‘एकदम खुशी छौ’,’ लिन्डेलफले भने, ‘‘यो ठूलो राहत थियो । फाइनलमा स्थान बनाउन पाउँदा खुसी छौं । पेनाल्टीमा मलाई आफूप्रति विश्वास थियो । मलाई थाहा थियो कहाँ हान्ने भनेर । मैले त्यही गरें ।’ गत फेब्रुअरीमा लिग कपको उपाधि जितेको युनाइटेड दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । युनाइटेडले यसअघि १२ पटक एफए कपको उपाधि जितिसकेको छ । इरिक टेन ह्यागको टिम युनाइटेडका लागि गत साता राम्रो हुन सकेन । युनाइटेड बिहीबार राति यूईएफ युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

त्यसको तीन दिनपछि युनाइटेडले वेम्बली रंगशालामा विजय हासिल गर्न सफल भएको छ । ‘‘बिहीबार राति टिमले आफ्नो क्षमता चिन्न सकेको थिएन । तर, आज सामान्य अवस्थामा फर्किएका छौं’,’ युनाइटेडका प्रशिक्षक टेन ह्यागले भने, ‘‘टिममा दृढता र लचियोपन देख्न सक्थ्यौं । हामीले हरेक यार्डमा लडाईं गर्‍यौ । गोलका राम्रा अवसर पनि सिर्जना गर्‍यौ ।’

युनाइटेडले अब उपाधिका लागि शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले शनिबार राति सेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । ‘हामीले घरमा सिटीलाई पराजित गर्न सक्छौं प्रमाणित गरिसकेका छौं । हेरौं फाइनलमा के हुन्छ’,’ १४ जनवरीमा सिटीलाई २–१ ले हराएको स्मरण गर्दै युनाइटेडका गोलकिपर डेभिड डि हियाले भने, ‘‘हामी अहिले सही दिशामा छौं । एक उपाधि जितेका छौं भने अर्को प्रतियोगिताको फाइनलमा छौं । र लिगमा हामी शीर्ष चारभित्र प्रतिस्पर्धा गरिरहेका छौं । यो नै पर्याप्त होइन । तर, गत सिजनको तुलनामा यो धेरै राम्रो हो ।’ एफए कपको फाइनल खेल वेम्बली रंगशालामै ३ जुनमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७