कर्मचारीहरुको मूल्याङ्कन कामका आधारमा हुन्छ : अर्थमन्त्री डा. महत

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई निर्देशन


१४ बैशाख २०८०, बिहीबार
mahat prakash

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् ।

आज (बिहीबार) विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, ‘तपाईहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोशिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नु हुनेछ ।’

मन्त्री डा. महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरेका छन् । उनको भनाइ थियो– कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नेछन् । उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।

मन्त्री डा. महतले भने, ‘समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौं, नियम कानुन अनुसार काम गरौं हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७