‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ गीतकार किरण खरेललाई


१६ बैशाख २०८०, शनिबार
ambergurung copy 11

पोखरा । प्रसिद्ध संगीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पहिलो पटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

दुई लाख राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । छ दशकदेखि निरन्तर गीत लेखनमा साधनारत खरेलले नेपाली संगङ्गीत जगतमा पुर्‍याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

पुरस्कारमा नगदसहित ताम्रपत्र र दोसल्ला रहनेछ । साहित्य, कला र संगीतको उत्थानमा क्रियाशील परिवारले नेपाली संगीत क्षेत्रका शिखर व्यक्तित्व अम्बर गुरुङको स्मृति एवम् सम्मानमा गत वर्ष उक्त पुरस्कार स्थापना गरेको थियो । दिवङ्गत गुरुङ नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत थिए ।

पुरस्कारको कोषमा रु २० लाख रहेको परिवारले जनाएको छ । कोष स्थापनामा विभिन्न सङ्घसंस्था र व्यक्तिले हातेमालो गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । पुरस्कार कोषलाई बढाएर रु २५ लाख पुर्‍याउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७