अबरुद्ध पृथ्वी राजमार्ग खुलाउन थप सेना परिचालन : अलपत्र यात्रुले गाडीमै कटाए रात


१९ बैशाख २०८०, मंगलवार
dharke2023 05 02 07 18 38

धादिङ । धादिङको धुनीबेशी नगरपालिका–६ स्थित गणेशखोला पुल नजिकै सडक भासिएपछि सोमबारदेखि पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ । सोमबार करिब ४ बजेर ३० मिनेटदेखि सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

सडक भासिएर भ्वाङ परे लगत्तै दादिङस्थित गणबाट खटिएको नेपाली सेनाको इन्जिनियर टोलीले सडक विभागका कर्मचारीसँग सहकार्य गरी काम गरिरहेको छ । रातभरी करिब १० फिटबाट ग्याविन वायर लगाएर माटो र ढुंगा भर्ने काम गरिरहेको नेपाली सेनाले जनाएको छ । हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । अबको दुई–तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको उनले जानकारी दिए । ‘दुई÷तीन घण्टामा सकेसम्म दुईतर्फी नभए एकतर्फी भए पनि सडक खुलाउँछौँ’, उनले भने, ‘साँघुरो ठाउँ भएकाले उपकरण र जनशक्ति भए पनि सडक खुलाउन समय लागेको हो’ भासिएको सडकमा माटो भर्ने लगायतका काम भइरहेको छ ।’

हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडीभित्रै बसेर रात कटाएको प्रहरीले जनाएको छ । ‘हामीले उहाँहरुलाई परेका अप्ठ्याराका विषयमा जानकारी र सोधीखोजी त गर्ने प्रयास गर्यौँ तर पनि सबै समस्या समाधान गर्न सम्भव हुने भएन, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई अलि बढी गाह्रो भएको पायौँ’ – प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले भने ।

उनका अनुसार अबको केही घण्टापछि सडक खुले पनि आज दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाइन कलङ्कीसम्म नै छ ।

पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ संख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने साना ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

हेटौँडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोका रुपमा लिन सकिन्छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७