फेरि सडक भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो प्रयोग आग्रह


२० बैशाख २०८०, बुधबार
Prithivi highway 2

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा फेरि सडक अवरुद्ध बनेको छ । गणेश खोलामाथिको पुलमा फेरि भ्वाङ परेपछि सडक अवरुद्ध भएको हो ।

अघि दिउँसो १२ बजेदेखि यो खण्ड हुँदै पृथ्वी राजमार्ग भएर चल्ने गाडी रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् । उनका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ ।

अस्ती सोमबार दिउँसो ४ बजेदेखि बन्द सडक हिजो बिहान १० बजे बल्ल एकतर्फी खुलाइएको थियो । १८ घण्टासम्म सडक अवरुद्ध हुँदा हिजो रातिसम्म नै जाम भएको थियो । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेका बेलामा फेरि आज अर्को भ्वाङ परेको हो ।

सडक अवरुद्ध भएपछि प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौंडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सक्ने छन् । धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्ने छन् ।

यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौंडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्ने छन् । पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडकखण्ड अवरुद्ध भए तराकारीदेखि खाद्यान्न र इन्धन ढुवानीमा समेत असर पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७