सरुवा हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई कारबाही हुने


२८ बैशाख २०८०, बिहीबार
sanghiya

काठमाडौं । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ ।

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुसी बस्न थालेपछि मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । रमाना भएका तर तोकिएको ठाउँमा नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुल गरिने समेत उक्त परिपत्रमार्फत मन्त्रालयले जनाएको छ ।

यसैगरी सरुवा भएको सात दिनभित्र रमाना लिई नगए निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजाय गरिने जनाइएको छ । हालसम्म सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर सात दिनभित्र उक्त जानकारी मन्त्रालयमा गराउन उक्त परिपत्रमार्फत भनिएको छ ।

मन्त्रालयको निर्णय कार्यान्वयन नगर्ने/नगराउने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई समेत निजामती सेवा ऐन, २०४९ को दफा ६० (क) बमोजिम विभागीय सजायसम्बन्धी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७