सर्वोच्चको आदेशमा इमरान खान रिहा


२८ बैशाख २०८०, बिहीबार
imran khan

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी भन्दै रिहाइ गर्न आदेश दिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले आज साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै रिहाइ गर्न आदेश दिएको हो ।

यसअघि आजै दिउँसो उक्त इजलासले एक घण्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो । खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए । पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो ।

अब खान भोलि इस्लामावादस्थित उच्च अदालतमा उपस्थित हुनेछन् । त्यतिवेलासम्म उनी प्रहरी सुरक्षामा रहने छन् । गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो । उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ ।

खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । हिंसात्मक प्रदर्शनका क्रममा भएका झडप तथा प्रहरीका गोली लागेर अहिलेसम्म ४२ जनाको मृत्यु भइसकेको छ । सयौँ घाइते भएका छन् । पाकिस्तानी सुरक्षाकर्मीले खान नेतृत्वको पार्टी पिटिआईका तीन हजारभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७