साम्बाको उत्कृष्ट प्रदर्शनमा आई लिगको फाइनल पुग्यो गोकुलम


६ जेष्ठ २०८०, शनिबार
Gokulam kerala 1

काठमाडौँ । नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा इस्टर्न स्पोर्टिङ युनियनलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै गोकुलम उपाधि नजिक पुगेको हो ।

खेलमा १–० ले पछि परेको गोकुलमले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो । खेलको १८औं मिनेटमा कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई १–० ले अग्रता दिलाइन् । खेलको ३१औं मिनेटमा गोकुलमले पेनाल्टीको अवसर पायो । पेनाल्टी एरियामा विपक्षी खेलाडीले सावित्रालाई लडाएपछि गोकुलमले पेनाल्टी अवसर पाएको थियो । जुन अवसरलाई इन्दुमतिले खेर जान दिइनन् ।

पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले गोल गर्दै गोकुलमलाई २–१ को अग्रता दिलाइन् । खेलको मध्यभागबाट आएको बललाई सावित्राले किपर अघि बढेको मौकामा गोल गरेकी हुन् । खेलको ५५औं मिनेटमा सावित्राको क्रसमा भिभियनले गोल गरिन् । खेलको ७०औं मिनेटमा सावित्राले दिएको क्रसमा इन्दुमतिले हेडर गोल गर्दै गोकुलमलाई ४–१ को अग्रता दिलाइन् ।

खेलको इन्ज्युरी समयमा सावित्राले गोकुलमका लागि पाँचौं तथा व्यक्तिगत दोस्रो गोल गरिन् । सावित्राले डिबक्स बाहिरबाट डिफेन्डर र गोलरक्षकलाइ बिट गर्दै लगेको बललाई पोस्टको दिशा दिइन् । साम्बाको टोलीले उपाधिका लागि नेपाली टोलीकै सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसीको सामना गर्नेछ । किकस्टार पहिलो उपाधि जित्ने योजना हुँदा गोकुलम भने उपाधि ह्याट्रिक गर्ने योजनामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७