ग्यास, बिजुली प्रयोगसम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममै राखौं : चन्द्र भण्डारी

‘यो मुलुक मेरो हो भन्ने बनाउन सकिएन’


१० जेष्ठ २०८०, बुधबार
Chandra bhandari

काठमाडौँ । प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै राख्न माग गरेका छन् ।

गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास चुहिएर भएको आगोलागीमा घाइते भएका भण्डारी त्यसपछि आज (बुधबार) पहिलो पटक संसद् बैठकमा उपस्थित भएका हुन् । उनले भने, ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि’, उनले भने, ‘विद्यार्थीले त जान्नु पर्‍यो नि ।’ उनले ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न लगाउनुपर्ने र यसबारे कानुन बनाउनु पर्ने समेत बताए ।

जलनमा परेर अघिल्लो वर्ष एक सय १० र यो वर्ष आफ्नो आमासहित एक सय ११ जनाको ज्यान गएको भन्दै सांसद भण्डारीले यसलाई गम्भीररूपमा लिनुपर्ने बताए । भण्डारीकी आमा हरिकला भण्डारीको गएको फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई फागुन ४ गते नै थप उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराएका भण्डारी गएको वैशाख १७ गते स्वदेश फर्किएका हुन् ।
‘यो मुलुक मेरो हो भन्ने बनाउन सकिएन’
सांसद चन्द्र भण्डारीले ‘यो मुलुक मेरो हो’ भन्ने बनाउन नसकिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दक्ष जनशक्तिको विदेश पलायन बढ्दै गएको भन्दै चिन्ता प्रकट गरे । उनले विद्यालले पनि क्लास निर्माण गरेको भन्दै गरिबका छोराछोरी सरकारी र धनीका छोराछोरी प्राइभेट स्कुलमा पढ्ने अवस्था विद्यमान रहेको बताए ।

‘हामीले डाक्टर राख्न सक्छौँ, न हामी इन्जिनियर राख्न सक्छौं । न युवा, युवतीहरू राख्न सक्छौँ । न भएको विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउ सक्छौँ । खोलेका स्कुलहरूलाई आधुनिक समयको अनुसार बनाउन सक्छौँ’, उनले भने, ‘हामीले त क्लास डिभिजन गर्छौ । गरिबका छोराछोरीले सरकारी स्कुलमा पढ्ने, धनीका छोराछोरीले प्राइभेट स्कुलमा पढ्ने । यो मुलुक मेरो हो भन्ने बनाउनुपर्‍यो नि ।’ उनले सरकारले आफूलाई दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न पनि अनुरोध गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७