प्रधानमन्त्री ओलीको निर्देशनपछि त्रिवि सिनेट बैठक स्थगित, ओली अस्वस्थ भएको हल्ला


२३ बैशाख २०७५, आईतवार
TU

काठमाडौं, २३ बैसाख । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिएका छन् ।

TU
त्रिभुवन विश्व विद्यालय । तस्विर : नयाँपेज

शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए ।
उनले भने, ‘यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा मन्त्रीमार्फत सभा बैठक स्थगन गर्न भन्नुभयो, मैले बैठक स्थगन गरें ।’ उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए ।
त्रिविको आजको बैठकमा पूराना नियमलाई संशोधन तथा खारेज गर्ने जस्ता कार्यसूची थिए । उपकुलपति खनियाँका अनुसार प्राध्यापक, कर्मचारी र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने लगायत सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाका विषयमा निर्णय गर्ने तयारी गरिएको थियो ।

शनिबार त्रिविको प्रि–सिनेट बसेर सिनेट बैठकका कार्यसूची तय गरिएको थियो । प्रतिवर्ष सिनेट बैठक दुई पटक बस्ने गर्छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले शिक्षामन्त्रीमार्फत प्रधानमन्त्रीले बैठक स्थगन गरेको बताइन । उनले भनिन्, ‘अन्तिममा आएर सिनेट बैठक स्थगन हुँदा दुःख लागेको छ ।’

सिनेटको कार्यसूची प्रष्ट भएन : प्रेस सल्लाहकार

प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट बैठक स्थगन भएको भन्ने केही मिडियामा आएको भनाइको खण्डन गरेको छ ।

प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै भने, ‘प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनु भएको थियो भने आज बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।’ डा. अर्यालले सिनेट बैठकमा लैजान लागिएका कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री त्यहाँ सहभागी नभएको जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यलाई देखाएर विषयवस्तु अन्यत्र मोड्न खोजिएको आरोप पनि लगाए ।

आंशिक शिक्षकद्वारा धर्ना

त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले सेवा स्थायी गर्न माग गर्दै आज कीर्तिपुरमा धर्ना दिएका छन् । लामो समयदेखि सेवा गरिरहे पनि आफूहरुको स्तरोन्नति हुन नसकेको जनाउँदै उनीहरुले आज त्रिविसभा बैठक बस्ने सूचना पाएपछि त्यस आसपासका क्षेत्रमा विरोधका कार्यक्रम गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७