ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह


१९ जेष्ठ २०८०, शुक्रबार
baideshika rojgar

काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइ दिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।’

मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको तथा पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिए ।

उनका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ ।

कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण
पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ ।

उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको विद्यमान कानुन, नीति, कार्यक्रम तथा तिनमा गर्नुपर्ने सुधारसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रमका सहभागीले अभिमुखीकरण कार्यक्रम गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य अवस्था तथा उनीहरुका लागि सम्बन्धित मुलुकको विद्यमान कानुनी व्यवस्थाबारे सचेतना गराउन जरुरी रहेको बताइन् । गन्तव्य मुलुकको कार्यप्रकृति, स्वास्थ्यमा देखापर्ने समस्या र समाधानका उपायका बारेमा अवगत हुनुपर्ने भएकाले रोजगारपूर्व श्रमिकलाई अभिमुखीकरण तालिम खाँचो पर्ने उनको भनाइ थियो ।

पत्रकार सुनिल न्यौपानेले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नेपालमा भइरहेका व्यवस्था, त्यहाँ गर्नुपर्ने काम, रणनीतिक योजनालगायत विषयमा चर्चा गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारीमा पुगेका श्रमिकमा देखापर्नसक्ने मानसिक अवस्थाको जाँच गराउनुपर्ने, सुरक्षित आप्रवासीसम्बन्धी कार्यविधि ठाउँअनुसार फरक–फरक हुनुपर्ने, स्वदेश फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग समन्वयन गरी व्यवस्था मिलाउनु पर्नेलगायत विषयमा छलफल भएको थियो ।

त्यस्तै नेपालमा एचआइभी एड्स संक्रमणको सबैभन्दा जोखिमा दोस्रो वर्ग अर्थात् प्रवासी श्रमिक वा तिनका श्रीमती हुने भएकाले सोसम्बन्धी रणनीतिक योजना प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने, पोषणयुक्त खानाको अभावले श्रमिक महिलाको प्रजनन् स्वास्थ्यमा देखापर्ने समस्या, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको मृत्यु हुनाको कारण तथा गन्तव्य मुलुकमा सामाजिक सुरक्षासम्बन्धी भएका व्यवस्थाबारे कार्यक्रममा समावेश हुनुपर्नेलगायत विषयमाथि छलफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७