राउटेका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन


२४ जेष्ठ २०८०, बुधबार
Raute Dailekh 1 scaled

दैलेख । लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको आज (बुधबार) निधन भएको छ ।
अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उनको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

हरेक २–३ महिनामा बस्ती सर्दै हिँड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्म संस्कार अन्तर्गत बुधवार नै उनको शव जमिनमा गाडिएको जोडी शिक्षक खत्रीले जानकारी दिए । मृतकलाई बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मूल किरिया कोही बस्न नपर्ने चलन छ । राउटे समुदायका सदस्य कोही निधन भएको ११–१३ दिन बीचको मंगलवार वा शनिवार पारेर सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काट्ने चलन छ ।

राउटे समुदायका सदस्यहरुको मृत्यु भएपछि बसिरहेको बस्ती एक हप्ताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काटेर मासु खाइ शुद्ध हुने वा किरिया सकिने प्रचलन छ । लोपोन्मुख राउटे जातिको जनसंख्या अब १४१ जना मात्र बाँकी छ ।

दैलेख आसपासमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् । खेती किसानी, पढाइ लेखाइ गर्ने र नागरिकता लिन राउटेले मिल्दैन भनेर इन्कार गर्दै आएका छन् । २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७