आवश्यक मल किनिसकेका छौँ, यो वर्ष मल अभाव हुँदैन : मन्त्री भुसाल


२७ जेष्ठ २०८०, शनिबार
Beduram shusal
फाइल फोटो

काठमाडौँ । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद किनिसकेको बताएका छन् । आज (शनिबार) भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भुसालले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको बताएका हुन् ।

उनले मलका लागि ठूलो सङ्कट नहुने दाबी गरे । उनले भने, ‘सरकारमा हामी दुई वटा मन्त्रालय लिएर बसेका छौँ । वास्तवमा भन्ने हो भने हामी त्यहाँ निर्णायक छैनौँ भन्दा पनि हुन्छ । हामी आफैँले लिएको मन्त्रालयभित्रै कति काम गर्न सक्यौँ । सक्छौँ भन्ने पहल गर्ने हो । कृषि मन्त्रालयको हिसाबले हेर्दा कृषि क्षेत्रको विकासका लागि केही पहल गरौँ भनेर केही निर्णयहरू अघि बढाएका छौँ ।’

उनले भने, ‘सधैँभर मलको हाहाकार हुने भएकाले मलको निम्ति बजेटको सुनिश्चितता नै प्रमुख कुरा हो, बजेटको सुनिश्चितता नभएकाले नै यो समस्या आइरहेको थियो, त्यसलाई अन्त्य गर्न बजेट पारित भएपछि नै मल सुनिश्चितता हुने गरी बजेट निकासा गर्न लगाएका छौँ । यो वर्ष चाहिने जति मल खरिद गरी सकिएको छ । केही आइसकेको छ, केही आउने क्रममा छ । धेरै ठूलो सङ्कट पर्दैन । हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौँ । यसभन्दा पहिला भएको थिएन । कृषिको बजारीकरण, औद्योगीकरणको समस्या समाधानका लागि पहल पहल गरिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७