मेयर शाहको घोषणा : भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्म प्रदर्शन निषेध


३ असार २०८०, आईतवार
Balen 1

काठमाडौं : काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक लगाएको छ । मेयर मेयर बालेन शाहले आइतबार काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन निषेध गरिएको घोषणा गरेका हुन् ।

आइतबार मेयर शाहले फेसबुकमा लेखेको छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

मेयर शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन अनुरोध गरेपनि नहटाएपछि भारतीय फिल्म प्रर्दशनमा रोक लगाइएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

मेयर शाहले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको उल्लेख गरेका छन् । चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाई छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को पूर्वसन्ध्यामा काठमाडौं महानगरका मेयर शाहले सच्चाउन तीन दिनको समय दिएका थिए । उनले लेखेका थिए, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।’

मेयर शाहले सामाजिक सञ्जालमा लेखेको त्यो पोस्टले भारतमा समेत तरंग ल्यायो । नेपालको चलचित्र विकास बोर्डले उक्त संवाद ‘म्यूट’ गर्न लगाएर मात्रै चलचित्र प्रदर्शनका लागि अनुमति दियो । तर शुक्रबारदेखि उक्त संवाद नसच्चाइ नेपालका हलहरुमा फिल्म ‘आदिपुरुष’ प्रर्दशन भइरहेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा एक करोड एक लाख रुपैयाँ नेट (झण्डै डेढ करोड ग्रस) कमाइ गरीसकेको छ ।

आइतबार बालेनले दिएको समय सकिएपछि सोमबारबाट रोक लगाएका हुन् । बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन ।

लेखक मनोज मुन्तशिरको दाबी : नेपाल भारतकै हिस्सा थियो

manoj muntashir

उता ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित दाबी गरेका छन् भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी भएको जिकिर गरेका हुन् ।

उनले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा १९०४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् ।’

तंशिरले नेपालीहरुसँग कुरा हुन पाए सम्झाउने पनि बताएका छन् । भनेका छन्,‘नेपाल भारतमै थियो । सीता भारतकै छोरी थिइन् । यदि नेपालीहरूलाई कुनै किसिमको चित्तदुखाइ छ र मसँग उनीहरूको कुरा हुन पायो भने जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थियो भनेर म सम्झाउनेछु ।’

राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नभएको उनको दाबी छ । उनले भनेका छन्, ‘राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७