वेस्ट इन्डिजले नेपाललाई दियो  ३४० रनको विशाल लक्ष्य


७ असार २०८०, बिहीबार
cricket 1200x560 1

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान होपले १३२ रन बनाए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १५औं शतक हो ।

होपले तेस्रो विकेटका लागि ब्रान्डन किंगसँग ४६ रन र चौथो विकेटका लागि निकोलस पुरनसँग २१६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई बलियो अवस्थामा ल्याएका थिए ।

होपसँग दोहोरो शतकीय साझेदारी गरेका पुरनले पनि शतक बनाए । पुरनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो ।

पुरन तीन रनमा खेलिरहँदा नेपालका विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए । ललितले गरेको १८औं ओभरको अन्तिम बलमा एज लाग्दा विकेटकिपर आसिफ क्याच मिस गरेका थिए । पुरन ५४ रनमा हुँदा पनि आसिफले पुनः क्याच छुटाएपछि उनले दोस्रोपटक जीवनदान पाएका थिए ।

ब्रान्डन किंगले ३२ रन जोड्दा रोभमन पावेलले २९ र जासन होल्डरले अविजित १६ रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए । उनले तीनै विकेट अन्तिम ओभरमा लिए । १० ओभर बलिङ गरेका ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी एक-एक विकेट लिए ।

प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको हो। पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७