भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो


९ असार २०८०, शनिबार
Nepal India 1024x565 1

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

नेपाल सन् २०१५ को साफपछि सेमिफाइनलबाट बाहिरिएको हो। सन् २०१८ मा नेपाल सेमिफाइनलमा पराजित हुँदा सन् २०२१ को साफको उपाधि भिडन्तमा भारतसँगै पराजित हुन पुगेको थियो।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे । पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गर्दै अवसर सिर्जना गरेपनि अग्रता लिन सकेन । पहिलो हाफ गोलरहित बराबरीपछि दोस्रो हाफमा भारतले अग्रता लिएसँगै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा दुई गोल गर्दै भारतले नेपालमाथिको वर्चस्व कायम राख्यो ।

भारत यस जितसँगै समूह चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । नेपालको साफ च्याम्पियनसिपको यात्रा भने यसपटक समूह चरणमा नै टुंगिएको छ । नेपालले पहिलो खेलमा कुवेतसँग ३-१ को हार बेहोरेको थियो ।

१७ औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । कर्नरमा आएको रिबाउन्डलाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा गुरप्रित बाधक बनेका थिए । त्यसको केहीबेरमै मनिष डाँगीको पास केहि फितलो हुँदा विमल घर्ती मगर ६ यार्ड बक्सभित्र अवसरको सदुपयोग गर्नबाट बन्चित भए ।

४० औं मिनेटमा उदान्ता सिंहले दायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक किरण चेम्जोङले एक हातले बल जोगाएपनि फार पोस्टमा महेश सिंह नाओरेम बलसम्म पुग्न सकेनन् । नेपालले पहिलो हाफको अन्त्यमा अन्जन विष्टको साथ गुमायो । चोटका कारण उनी बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरे ।

दोस्रो हाफको ६१ औं मिनेटमा भारतले अग्रता लियो । कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय करिअरको ९१ औं गोल गर्दै भारतलाई अघि बढाए । बायाँ विंगमा महेश सिंह नाओरेमले दिएको क्रसलाई सुनिलले सहजै गोल गरेका थिए ।

७० औं मिनेटमा भारतले अग्रता दोब्बर पार्यो । कप्तान सुनिलको पहिलो प्रहार नेपाली कप्तान किरण चेम्जोङले बचाएका थिए । उक्त बचाउ क्रसबारमा लाग्दै पेनाल्टी क्षेत्रभित्र फर्कंदा महेशले सहजै गोलमा परिणत गरे । यस नतिजासँगै भारत सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।

नेपाल पराजित भएसँगै पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ। भारत र कुवेत भने समूह ‘ए’ बाट अन्तिम चारमा पुगेका छन्।

नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ। सो खेल अब प्रतिष्ठाको लडाइँ मात्र हुने भएको छ। सोहि दिन भारत र कुवेतबीच हुने खेलले समूह विजेताको टुंगो लाग्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७