भारत मणिपुरमा गृहयुद्धको जोखिम


११ असार २०८०, सोमबार
manipur pti MIuOmDHFa4

काठमाडौं । भारतको मणिपुर राज्यमा गृहयुद्धको जोखिम बढेको छ । साढे दुई महिनादेखि साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

लिबिया, लेबनान, नाइजेरिया, सिरिया लगायतका देशमा जस्तै जुनसुकै बेला नागरिकको जनधनको क्षति पुग्ने जोखिम मणिपुरमा बढेको छ । मणिपुरका बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा एक सय जना जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् ।

तीन सय ५० वटा आश्रयस्थलमा ६० हजार विस्थापितहरु कष्टकर जीवन बिताइरहेका छन् । राज्यमा ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसाका घटनाहरु रोकिएका छैनन् । लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझै बढेको छ ।

प्रदर्शनकारीहरुले दुई सय वटाभन्दा धेरै गिर्जाघर र १७ वटा मन्दिरमा आगजनी गरिरहेका छन् । राज्यमा विद्यालय र इन्टरनेट सेवा बन्द छ । साढे दुई महिनादेखि रात्रिकालीन कर्फ्यु कायमै छ । म्यानमारको सीमासँग जोडिएको मणिपुरमा साम्प्रदायिक हिंसा नौलो नभए पनि यस पटक गृहयुद्धको खतरा बढेको हो ।

मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले विरोध गर्दा तनाव चर्किएको भए पनि अरु धेरै कारणले साम्प्रदायिक हिंसा बढिरहेको छ । मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । झण्डै ३३ लाख जनसंख्या रहेको मणिपुरमा मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७