संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्त हुन्छन् : कानूनमन्त्री गुरुङ


१२ असार २०८०, मंगलवार
Dhanraj Gurung

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्ति हुने गरेको बताएका छन् ।

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भईरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । मन्त्री गुरुङले संविधानले नै प्रद्धत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरु नियुक्ति हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकिर समेत गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भए जस्तो आफूलाई नलागेको बताए । मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरु नियुक्त नभएको बताए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरु फर्स्याैट हुने गरेको भनाईमा पनि सत्यता नरहेको बताए । सर्वोच्च अदालतको आफ्नै प्रक्रिया भित्रबाट मुद्दाहरुको छिनाफानो हुने गरेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले न्यायालयले न्याय सम्पादनको काम स्वतन्त्र ढंगले गर्ने गरेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७