सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२० असार २०८०, बुधबार
Narayankaji 2
फाइल फोटो

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताए ।

उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’ भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गर्ने उनले बताए । उनले भने, ‘स्वच्छ, स्वतन्त्र अनुसन्धानको आधारमा तथ्य र प्रमाणले जे देखाउँछ, त्यो विन्दुसम्म सरकार पुग्छ ।’ यस विषयमा अरु ढङ्गले सोच्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो ।

बर्सात सुरु हुने समयमा विपद्को तयारी के छ भन्ने पत्रकारको प्रश्नमा उनले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए । उनले भने, ‘हामीलाई सामान, स्रोत, प्रविधिको अझै पनि केही अपर्याप्तता रहेको छ । तैपनि हामीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सन्दर्भमा यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागेको छ ।’

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताए । बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताए ।

जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष गर्ने नेताले यहाँको सरकार बनाउनका निमित्त विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुन नसक्ने उनको तर्क थियो । उनले भने, ‘यस विषयमा प्रधानमन्त्री ज्यूले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७