ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु


१ श्रावण २०८०, सोमबार
Traffic tnahu khaireni bhimad road
फाइल फोटो

काठमाडौं । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरे / नगरेको बारे जानकारी राख्ने तथा जरिवाना समेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ ।

आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि उक्त प्रणाली २१ जिल्लामा लागू गरिएको केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । यसअघि काठमाडौँ उपत्यकामा उक्त प्रणाली सञ्चालनमा थियो ।

सवारी नियम उल्लङ्घन कसुरहरूको जरिवानाबापत राजस्व सङ्कलनलाई प्रदेशगत रूपमा बैङ्किङ प्रणालीमा जोड्ने योजनाअनुरूप उक्त प्रणाली सञ्चालन गरिएको हो । उक्त प्रणाली कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेस प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशअन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व) मा सञ्चालन गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशअन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७