फिलिपिन्समा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, ६ जना बेपत्ता


१२ श्रावण २०८०, शुक्रबार
dunga
फाइल फोटो

मनिला । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुंगा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो । सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठ डुंगालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह (बायाँ) तिर गएका थिए ।’

‘उक्त हुरी तत्काल साम्य भएको थियो र डुंगालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन’, तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले भने । यात्रुवाहक डुंगा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले एएफपीलाई बताए ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको उनले बताए । कालिनावान बन्दरगाहमा उभिएका बिनान्गोनानका बासिन्दा फ्रेडरिक सिसनले भने, ‘डुंगा हाम्रो अगाडि डुबेको थियो ।’ दुर्घटना भएको केही घण्टापछि पनि हराइरहेका ६ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेको सिराडोसले बताए ।

कोस्ट गार्डले सार्वजनिक गरेको उद्धारको भिडियो फुटेजमा एक व्यक्ति डुंगाको छेउमा रहेको डुंगाको हुलमा उभिएर ‘यहाँ धेरै मानिसहरू छन्’ भन्दै चिच्याइरहेको देखिन्छ । अर्को क्लिपमा दुई जना उद्धारकर्मीहरू डुंगाको छेउबाट झुकेर शान्त पानीबाट अचेत जस्तो देखिने एक व्यक्तिलाई उद्धार गरेको देख्न सकिनछ ।

सिसनले खिचेको र एएफपीसँग शेयर गरिएको फुटेजमा चिन्तित मानिसहरू किनारामा उभिएर डुङ्गाहरूले उद्धार कार्यमा भाग लिइरहेको देखिएको छ । भिडियोमा एक युवा डुंगा चालकले आफूले एक अशक्त व्यक्ति र एक बालिकासहित चार जनालाई बचाएको दावी गरेका सुनिन्छ । आँधीका कारण दक्षिणपश्चिम मनसुन तीव्र हुँदै गएपछि आँधीबेहरीको चेतावनीका कारण लुजोन र मध्य टापुहरूमा यस हप्ताको सुरुमा काठका डुंगाहरू र टापुहरूबीच यातायात प्रदान गर्ने यात्रीहरूलाई तटमा जान आदेश दिइएको थियो ।

सात हजारभन्दा बढी टापुहरूको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूलाठूला दुर्घटना हुने गरेका छन् । यहाँ सामान्यतया माछा मार्न वा मानिसहरूलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुङुगा प्रयोग गरिने गरेको छ । प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनाहरूमा धेरै व्यक्तिको मृत्यु हुने गर्छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७