स्थानीयले बनाए काठे पुल


१३ श्रावण २०८०, शनिबार
Pul kathe lamjung
फाइल फोटो

लमजुङ । लमजुङका स्थानीयले एक महिना लगाएर अस्थायी मोटरेवल काठे पुल निर्माण गरेका छन् । बेँसीसहर नगरपालिका–१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन् ।

पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुधप्रसाद घलेले बताए । उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवातजावत गर्न सक्ने घलेको भनाइ थियो । बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए ।

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गङ्गा थापाले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका सुरक्षाकर्मी तथा स्थानीयले श्रमदान गरेका बताए । उनका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले एक्साभेटर उपलब्ध गराएको थियो ।

वडाध्यक्ष थापाले भाचोक खेला डुम्रे–बेँसीसहर–चामे सडकको वैकल्पिक मार्ग समेत रहेको बताए । उनका अनुसार बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट, भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्को पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७