पूर्वाधार विकासमा सहयोग गर्न महासंघ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह


१६ श्रावण २०८०, मंगलवार
p

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ ।

साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पूर्वाधार विकास एवम लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको आज भएको भेटमा उक्त आग्रह गरिएको हो । कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए ।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रियशक्ति पनि घटदै गएको उनको भनाइ छ । सो अवसरमा नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासङ्घसँग सहकार्य गर्नआफू तयार रहेको बताइन् ।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासङ्घले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासङ्घले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका विषयको नेतृत्व गर्छिन् ।

भेटका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए । महासङ्घका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवर्द्धन आवश्यक रहेको बताए । महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएको महासङ्घले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७