एमालेमा जान लागेका कर्माचार्य एकीकृत समाजवादीबाट निष्काशित


१९ श्रावण २०८०, शुक्रबार
subash karmacharya

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य एवं सिन्धुपाल्चोक इञ्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयको आज (शुक्रबार) बसेको बैठकले पूर्व सांसद समेत रहेका कर्माचार्यलाई पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको भन्दै निष्कासन गरेको हो । ‘पटक–पटक सम्झाउँदा पनि पार्टी हितविरुद्धका गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ’‚ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनी यसअघि नेकपा एमालेसँग सम्बद्ध थिए । एमालेमा रहेको अवस्थामा ८ वर्षसम्म सिन्धुपाल्चोक जिल्लाको नेतृत्व गरेका कर्माचार्य २०७८ पुसमा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कर्माचार्य शनिबार नेकपा एमाले फर्कने तयारीमा छन् । त्यसअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले उनलाई निष्कासन गरेको हो ।

कर्माचार्यले भने एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि हुन नसकेको दाबी गरेका छन् । उनी २०३७ सालदेखि नै वाम आन्दोलनमा लागेका थिए । उनले ८ वर्ष एमाले सिन्धुपाल्चोकको नेतृत्व पनि सम्हालिसकेका छन् । एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत मनोनित नभएपछि असन्तुष्ट भएका उनले पार्टीमा विद्रोह गर्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७