निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन


२० श्रावण २०८०, शनिबार
Goat baitadi

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालक समेत रहेका चन्दले थालेको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि पाँच करोड लगानी भइसकेको चन्दले बताए । उनका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् । भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । सिरोही जातको ‘भीम’ नाम गरेको बोका समेत फार्ममा रहेको उनले बताए । उक्त बोकाको तौल एक सय ८० किलो छ ।

चन्दले भने, ‘पाँच / छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।’ उनले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’ स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका थिए ।

‘बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, चन्दले भने, ‘अहिले सिरोही, तोतापरीलगायत पाँच /छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।’ कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गरेका चन्दले छ जनालाई रोजगारी समेत दिएका छन् । उनका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उनले भने, ‘यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।’

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ थियो ।
‘गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ’, चन्दले भने ।

बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उनले बताए । स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नमा उनले जोड दिए । बुवाबाजेको आठसय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताए । ‘नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७