खोलाको बाढी बस्तीमा पस्दा तीन हजार परिवार प्रभावित


२५ श्रावण २०८०, बिहीबार
Duban badhi kailali 3

कैलाली । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।

डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ ।

Duban badhi kailali 2

डुबानले घरभित्र पानीपस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’ को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो । वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।

बाढी र डुबानको समस्या बढ्दै गएपछि कैलाली जिल्लामा निर्माण भएको पूर्व–पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित वासस्थान बन्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो ।

भइरहेको डुबानको जोखिमबाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेका छन् । ‘वर्षा हुना साथ स्थानीयवासी त्रासमा बस्ने गरेका छन्’, स्थानीय शिवलाल चौधरीले भने, ‘नदीको बहाव बस्तीमा पस्ने खतरा देखिँदा स्थानीयवासी राजमार्गलाई आफ्नो सेल्टर बनाउन विवश भएका छन् ।’

Duban badhi kailali 1

बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ । डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिदेखिका कतिपय पुराना बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडक समेत कटान हुने गरेको छ । वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमबार रातिदेखि अवरुद्ध छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमन गर्ने यात्रु र मालवाहक यातायातका साधनबीच बाटोमै रोखिएर अलपत्र छन् । यो राजमार्गको बूढीतोला खानीडाँडा सडकखण्ड भासिएको छ भने ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७