‘ब्रेक सु’ भित्रको ६० किलो ७८९ ग्राम सुन आज गालिँदै, तौल अझै घट्न सक्ने


३० श्रावण २०८०, मंगलवार
gold 2

काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुनेछ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए।

त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।

त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएको थियो । उक्त घटनामा अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७