ललिता निवास प्रकरणमा सीआईबीले घरमै पुगेर लियो माधव नेपालको बयान


४ भाद्र २०८०, सोमबार
madhav nepal 3
फाइल फोटो

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको छ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालसँग गए राति सीआईबीले नेपालको कोटेश्वरस्थित घरमै पुगेर बयान लिएको हो ।

सीआईबीले यही प्रकरणमा अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि गए राति नै बयान लिएको थियो । सीआईबीका प्रवक्ता नवराज अधिकारीले पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको जानकारी दिएका छन् ।
अधिकारीले उनीहरूसँग बयान कागज भएको बताएका छन् । उनले सुनाए, ‘उहाँहरूसँग बयान कागज भएको छ, अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भइरहेको छ ।’

यसअघि साउन २९ गते बसेको सत्ता गठबन्धनको बैठकले दुवै पूर्व प्रधानमन्त्रीहरुसँग बयान नलिने गरी यो मुद्दा अघि बढाउने सहमति गरेको थियो । तर, चौतर्फी दबाबपछि सीआईबीले आइतबार दुवै पूर्व प्रधानमन्त्रीसँग बयान लिएको हो । सीआईबीले ललिता निवासको फाइल आइताबार नै जिल्ला सरकारी वकिलकहाँ पठाउने तयारी गरेको थियो । यसअघि पूर्व प्रधानमन्त्री नेपालले ललिता निवास प्रकरणमा आफूले असल मनसायका साथ निर्णय गरेको बताएका थिए । उनले आफूले कुनै गल्ती नगरेकाले नडराउने पनि बताएका थिए ।

मन्त्रिपरिषद्को २९ चैत २०६६, ३१ वैशाख २०६७ र २८ साउन २०६७ साउनमा ललिता निवासको केही जग्गा व्यक्तिका नाममा ल्याउने निर्णय हुँदा प्रधानमन्त्री माधवकुमार नेपाल थिए । तीन पटकसम्म मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७