राष्ट्रपतिको आह्वानमा सर्वदलीय वैठक बस्दै, एमाले नजाने संकेत


५ भाद्र २०८०, मंगलवार
Ramchandra poudel 2 1 scaled

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ । शीतल निवासमा बिहान साढे ८ बजे बस्ने सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसद्को गतिरोध अन्त्यका लागि छलफल गरेका थिए ।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पनि छुट्टाछुट्टै छलफल गर्दै आएका छन् । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गएको साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित बैठकले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति गरेको छ । यो सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ ।

यसैबीच राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमालेले नजाने संकेत गरेको छ । प्रधानमन्त्रीसँग छलफल नगरी राष्ट्रपतिले बैठक बोलाउने प्रावधान नरहेकाले राष्ट्रपति पौडेलले बोलाएको बैठकप्रति एमालेले शंका गरेको छ । एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि असन्तुष्टि राखिसकेको छ । ‘प्रधानमन्त्री राति १० बजेसम्म राष्ट्रिय दलसँग बसेर सहमति गर्न खोजिराख्नु भएको छ । आज दिउँसो पनि बैठक बस्दै छ,’ ती नेताले भने, ‘राष्ट्रपतिले फेरि किन बैठक बोलाउनु प¥यो ! हामीले प्रधानमन्त्रीलाई पनि रोक्न भनेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७