दुई दाना कम्पनीमाथि मुद्दा दायर


७ भाद्र २०८०, बिहीबार
IMG 2838 uqcOvR48kT

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

भरतपुर महानगरपालिका–४ मा रहेको पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको कैलाशपति एग्रो प्रालिलाई मुद्दा दायर गरिएको हो । उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले उनीलाई मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए ।

उनीहरुलाई दाना पदार्थ ऐन २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । उनीहरुलाई यस ऐनअन्तर्गत नगद रु २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद मागदाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिक दानाको नमूना सङ्कलन गरी २८ वटा कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीका लागि कारबाहीका लागि सिफारिस गरिएको छ । चिया र मह उत्पादन गर्ने कम्पनीलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि विभाग पठाइएको अधिकारीले बताए ।

यस्तै कार्यालयले गत आवमा एक सय वटा विभिन्न खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ । अधिकारीका अनुसार तत्काल अनुगमन १६ पटक गरिएको छ । पचासी पटक खाद्य बजार अनुगमन, दाना बजार अनुगमन २४ पटक, होटल अनुगमन ६० वटा, खाद्य उद्योग ५९ वटा, १४ वटा दूध, तेल तथा पानी उद्योग अनुगमन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी कार्यालयले हाटबजार तथा मेला महोत्सवको आठ पटक अनुगमन गरेको छ । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको उनले बताए । स्थानीय पालिकासँगको समन्वयमा गुनासो आएका स्थानको निरीक्षण अनुगमन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७