ललिता निवास प्रकरण : संगठित कीर्तेमा मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय


१० भाद्र २०८०, आईतवार
lalita niwas photo

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा सरकारले संगठित कीर्तेमा मुद्दा नचलाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले संगठित कीर्तेमा मुद्दा नचलाई मुलुकी ऐन २०२० अनुसारको पुरानै कानुनमा टेकेर मुद्दा चलाउन लागेको हो ।

संगठित अपराधसम्बन्धी व्यवस्था २०७० सालपछि मात्रै लागू भएकाले पुरानै कानुन अनुसार मुद्दा चलाउन लागेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सरकारी वकिल कार्यालयले मुलुकी ऐन, २०२० को कीर्ते कागजको महलको दफा १ र २ को कसुरमा सोही महलको दफा ७, ९ र १२ बमोजिमको सजायको मागदावी लिई अभियोग पत्र अदालतमा पेस गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसार सो कसुरमा कसुरदारलाई जनही १ वर्ष कैद र कर्मचारीले त्यस्तो किर्ते गरेको अवस्थामा थप दुई वर्ष गरी कर्मचारीलाई कुल तीन वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । उक्त कैद सजायसहित जग्गा फिर्ताको मागदावी समेत लिइएको छ । यदि सरकारी वकिल कार्यालयले नयाँ कानुनअनुसार संगठित किर्तेमा पनि मुद्दा लगेको भए उनीहरूलाई कुल सजायको डेढी अर्थात् ३ वर्ष कैद सजाय हुनेलाई थप डेढ वर्ष गरी कुल साढे ४ वर्षसम्मको कैद सजाय हुन सक्थ्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा भने जिल्ला सरकारी वकिल कार्यालयबाटै राय लिई संगठित कीर्ते कसुरमा अनुसन्धान गरेको थियो ।

तर ललिता निवास क्याम्पभित्रको जग्गा हिनामिनाको कसुर २०७० सालभन्दा अगाडि नै भएको र संगठित अपराधसम्बन्धी कानुन २०७० सालपछि मात्रै आएको कारण संगठित अपराध वा संगठित कीर्तेमा मुद्दा नचलाइएको सरकारी वकिल कार्यालयले जनाएको छ । यतिबेला जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताका लागि अभियोग पत्रका साथमा मिसिल बुझाइसकेको छ । अदालतमा अहिले उक्त फाइल अध्ययनका क्रममा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७