गणपूरक संख्या नपुगेपछि संसद बैठक एक साताका लागि स्थगित


१२ भाद्र २०८०, मंगलवार
samsad 3

काठमाडौँ । प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि मंगलबार बसेको बैठक एक साताका लागि स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो । तर, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ संख्या नपुगेको हो ।
सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक संख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् ।

यस्तै, एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्यामाथि प्रश्न उठाउँदै सो विधेयकको विषयलाई अघि नबढाउन आग्रह गरे । सभामुखले घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र उपस्थित थिए । लगत्तै सभामुख घिमिरेले सदनको बाँकी कार्यसूची स्थगित गरेका हन् । अर्को बैठक भदौ १८ गते दिउँसो १ सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७