‘ऐंचो पैंचो’ र ‘गणपति’ प्रदर्शनमा


१५ भाद्र २०८०, शुक्रबार
ganapati aichopaicho 1693444374

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसर पारेर दुई नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन भएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । यद्यपि चलचित्र पूर्णरुपमा राजनीतिमै केन्द्रित नरहेको निर्देशक चौलागाईंले बताइन् । ‘हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ’, निर्देशक चौलागाईंले भनिन् ।

चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । केपी फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् ।

आजैदेखि प्रदर्शन भएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका छन् । उनकै लेखन रहेको चलचित्रमा निःसन्तान दम्पतिलाई भगवान गणेश जस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए । उनले भने, ‘यो केही फरक रुपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय विताएको थिएँ ।’ चलचित्रमा हरिबहादुर घलेले छायाङ्कन , विपिन मल्लले सम्पादन, कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७