बुर्किना फासोमा जिहादी आक्रमण : ५३ जनाको मृत्यु, भिडन्त जारी


२० भाद्र २०८०, बुधबार
896d305f 68c3 4205 81aa 89cc0cb7c61006092023084810.jpg
तस्वीर : रोयटर्स

काठमाडौं । उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको छ ।
आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार र मंगलबार १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकुको मृत्यु भएको सेनाको जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अरू ३० जना सुरक्षाकर्मी घाइते भएका छन् । ती सैनिक र स्वयंसेवकलाई दुई वर्षअघि जिहादीले लखेटेका बासिन्दाको पुनर्स्थापनाका लागि यातेंगा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो । ‘जवाफी कारबाहीमा कैयौँ आक्रमणकारीलाई ‘निष्प्रभावी’ पारिएको र उनीहरूका उपकरणहरू नष्ट गरिएको छ भने उक्त क्षेत्रमा अहिले पनि भिडन्त जारी रहेको छ’, सेनाले मंगलबार राति जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बुर्किना फासोमा जिहादी विद्रोहलाई रोक्न असफल भएको भन्दै गत वर्ष दुई पटक सैन्य ‘कु’ भएको थियो। जिहादीले सन् २०१५ मा मालीमा गरेको आक्रमणपछि हजारौँको ज्यान लिइसकेको छ । आक्रमणमा परी १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको अलजजिराले जनाएको छ । बुर्किना फासोमा पनि २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७