मधेसको कथा भन्नु पर्छ : निर्देशक झरना थापा


२१ भाद्र २०८०, बिहीबार
Jharana Thapa5

काठमाडौँ । अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ ।

मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने निर्देशक थापाले बताइन् ।

‘हाम्रो चलचित्रमा मधेसको पात्र मात्र नभई संस्कृति पनि प्रस्तुत गरिएको छ । यसले जानकी मन्दिरको पर्यटनमा टेवा पुर्‍याउनेमा म विश्वस्त छु’, उनले भनिन्, ‘तराईको बजारलाई ध्यान दिँदै मैथली भाषाको प्रयोग गरिएको छ तर, त्यसलाई विश्वभर बुझ्ने किसिमले हामीले चलचित्रमा प्रस्तुत गरेका छौँ ।’

स्थानीय भाषामै स्वराङ्कन गराएर चलचित्र प्रदर्शन गर्न सकिए राम्रो हुने भए तापनि अहिले विश्व प्रदर्शनलाई मात्र केन्द्रित गरिएको उनले बताइन् । निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाउँदै छिन् ।

अघिल्ला चलचित्र परम्परागत भए पनि आउँदो समयमा समाजसँग जोडिएको कथा र पात्रलाई पर्दामा ल्याउने उनको योजना छ । ‘मैले सुरुआती समयलाई सिकाइको रूपमा लिएँ। धेरै दर्शकसम्म पुग्न परम्परागत कथ्यशैलीका चलचित्र निर्देशन गरें । किनकि ती दर्शकलाई अब सामाजिक विषयसँग जोडिएका चलचित्रसम्म आकर्षित गर्नेछु’, उनले भनिन् ।

उनले चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था रहेको पनि बताइन् । किनकि बजारमा व्यापार गर्न नसके यात्रा रोकिने उनको बुझाइ थियो । ‘हामीले कथामा पात्र सोच्दा नै बजारको मूल्यमान्यता जोडिँदो रैछ तर, स्टार कलाकारकै कारण चलचित्र भवनसम्म आइपुग्नुभएका दर्शक भने विषयवस्तुमार्फत नै सन्तुष्ट हुनुपर्छ,’ उनले भनिन् ।

यौनिक लैङ्गिक अल्पसंख्यक समुदायलाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत प्रस्तुत गरेकी छिन् । चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७