अपराधमुक्त समाज निर्माण सरकारको प्राथमिकता : गृहमन्त्री श्रेष्ठ


२३ भाद्र २०८०, शनिबार
Narayankaji shrestha
फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् । ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले भने, ‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, निर्माणको अभियानमा सरकार छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने र दलाल पुँजीको सट्टा राष्ट्रिय पुँजीको प्रवद्र्धन गरिने समेत बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताएका छन् ।
‘सङ्घीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ, ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

काठमाडौँको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ महर्जनको घरमा बसेर कार्यक्रम बनाइएको समेत उनले स्मरण गरे । ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकाले वर्तमान सरकार समृद्धिको मूल प्राथमिकतासहित अगाडि बढेको उनले बताए । सामाजिक विविधताभित्रको एकतामा विग्रह फैलाउने काम हुन सक्नेतर्फ सचेत हुँदै अगाडि बढ्नुपर्ने र ज्यापु जस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७