अखिल क्रान्तिकारीको विवाद मिलाउन दुवै कमिटी भंग गरिँदै, पार्टीले आयोजक समिति बनाउने


२५ भाद्र २०८०, सोमबार
akhil krantikari with prachanda MIeOqcC9C2

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको करिब एक वर्षदेखिको विवाद समाधान भएको छ । पञ्चा सिंह र पवन कार्की समूहबीचको विवादलाई सोमबार बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा मिलाइएको हो । प्रचण्डको उपस्थितिमाा सोमबार भएको छलफलबाट पुरानो कमिटी भंग गरि नयाँ सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति जुटेको हो ।

छलफलपछि विद्यार्थी फाँटका इञ्चार्ज हिमाल शर्माले सबैको सकारात्मक प्रयासले अखिल क्रान्तिकारी एक भएको बताएका छन् । अखिल क्रान्तिकारीमा अहिलेसम्म पञ्चा सिंह र पवन कार्की नेतृत्वको समानान्तर दुई समूह क्रियाशील थिए । दुवैले नेतृत्व गरेको टिमलाई समेटेर ९९ सदस्यीय भेला २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने सहमति भएको नेता पवन कार्कीले जानकारी दिए । ‘संगठनभित्रको विवाद समाधान भइसकेको छैन, समाधानउन्मुख छ । पार्टीको निर्णय आउनु पर्छ, त्यसलाई कार्यान्वयन गरेर जाने वातावरण बने समस्या समाधान हुन्छ,’ उनले भने ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले आयोजक समिति करिब २ सय जनाको बन्ने बताए । सहमतिअनुसार यसअघिको २२ औँ राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्यहरु सबै अब केन्द्रीय सचिव हुनेछन् । तत्कालीन २१ औँ राष्ट्रिय सम्मेलनपछिका प्रदेश सह–संयोजकहरु (हालका केन्द्रीय सचिव, केन्द्रीय आयोगका प्रमुख र उपप्रमुख, प्रदेश अध्यक्षहरु) उपमहासचिव हुने भएका छन् । संगठनको केन्द्रीय पदाधिकारीमै २०० जना हुनेछन् । आयोजक समितिमा रहने सबै नयाँ राष्ट्रिय सम्मेलनमा आ–आफ्नो कार्यक्षेत्र वा जिल्लाबाट प्रतिनिधि चुनिएर आउनु पर्ने भएको छ ।

अहिले सिंह नेतृत्वको क्रान्तिकारीमा ४९ जना पदाधिकारी छन् । त्यसमा पवन कार्की नेतृत्वको समूहको थपेर ९९ सदस्यीय बनाउने तयारी छ । नयाँ सम्मेलन आयोजक समितिको पदाधिकारी बनाउँदा यसअघि रञ्जित तामाङ अध्यक्ष हुँदा बहाल रहेको आयोजक समितिलाई आधार मान्ने सैद्धान्तिक सहमति भएको छ ।

तामाङ नेतृत्वको आयोजक समितिका कतिपय नेताहरुले अहिले विद्यार्थी संगठन छोडिसकेकाले बाँकीलाई समेट्ने तयारी छ । विद्यार्थी फाँटको इन्चार्जमा पूर्व अध्यक्ष एवम् माओवादी युवा नेता हिमाल शर्मा छन् । उनकै पहलमा विद्यार्थीको विवाद समाधान प्रयास भएको हो । बालुवाटारको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव वर्षमान पुनसहित दुवै अखिल क्रान्तिकारीका नेताहरु थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७