समाजवादी मोर्चा कांग्रेस तर्साउन बनाइएको होइन : उपेन्द्र यादव


२५ भाद्र २०८०, सोमबार
Upendra Yadav 1694424366

मोरङ । सत्तारुढ जनता समाजवादी पार्टीका (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र संस्थागत गर्न समय झन घर्किदै गएको बताएका छन् ।

समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै यादवले भने, ‘निरंकुश पंञ्चायती व्यवस्था फ्याकेको ३४ वर्ष भयो । गणतन्त्र स्थापना गरेको १५ वर्ष भयो । नयाँ संविधान बनेको पनि लामो समय भयो । तर विगतको १६ वर्षमा १३ पटक केन्द्रमा सरकार बदलिए छन् तर प्राप्त भएको उपलब्धि संस्थागत हुन सकेनन् ।’

उनले गणतन्त्र संस्थागत गर्न प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसकिएको र प्रदेश कमजोर अवस्थामा पुगेको बताए । सबै शक्ति सरकार बनाउने र टिकाउनेमा ध्यान जाँदा संघीयता कार्यान्वयन गर्न नसकिएको बताउँदै प्रहरी, निजामती ऐन नबन्दा प्रदेश संस्थागत गर्न नसकिएको बताए ।

उनले भने, ‘समाजमा समान स्रोत साधनमाथिको पहुँच अभिवृद्धि हुन सकेको छैन । जनतामा आक्रोश बढ्दै गएको छ ।’ सुशासन चाहेको भए पनि नेपालीले कुशासन मात्र पाइएको यादवको भनाइ छ । आर्थिक र राजनैतिक उपलब्धि संस्थागत हुन नसकेको भन्दै उनले विकास र समृद्धिको यात्रामा आम जनता सामेल हुन नपाएको जिकिर गरे ।

आर्थिक खाडल र विभेद बढेको बताउँदै यादवले कृषि, शिक्षा क्षेत्र झन् उपेक्षित र चौपट भएको बताए । राजनीति स्थिरताको लागि समाजवादी मोर्चा निर्माण गरिएको उनको भनाइ छ । मोर्चा कांग्रेसलाई तर्साउन वा उसको विरुद्धमा नबनाइएको यादवले दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७