बाल अस्पताललाई गायिका आनी छोइङको एक करोड ८० लाख सहयोग


२५ भाद्र २०८०, सोमबार
Aani Chhoing and Bhagwan Koirala

काठमाडौं । गायिका आनी छोइङ डोल्माले झापाको दमकस्थित बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरियो ।

फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्रा. डा. कोइरालालाई प्रदान गरेका हुन् । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ कार्यक्रममा बोल्दै आनीले भनिन्, ‘सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा डा. कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिंदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे । ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए,’ उनले भने, ‘सोही अनुसार अब संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य छ ।’

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा. कोइरालाले बताए । उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । सेवा सुरु भएको चार महिनामै यसले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जनाए ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा हब अस्पतालको रुपमा बहुविशिष्टकृत बाल अस्पतालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए । आनी छोइङ डोल्माले नेपाल र भारतमा भर्खरै च्यारिटी कन्सर्ट पनि सम्पन्न गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७