६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी, ६ जना रिहा हुँदै

भन्सार एजेण्ट सुब्बाविरुद्ध पनि मुद्दा दर्ता


३१ भाद्र २०८०, आईतवार
gold taskar

काठमाडौं । ६० किलो सुन तस्करीको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

प्रतिवादी बनाइने २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यस प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । बरामद ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जना रिहा हुने भएका छन् । प्रहरीले मुद्दा नचलाउन राय दिएका ६ जनालाई आज (आइतबार) रिहा गर्न लागिएको हो ।

छ जनालाई रिहा गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई सरकारी वकिल कार्यालयले पत्र लेखेको हो । भन्सार अधिकृत पुष्पा जोशी, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङ आज रिहा हुने भएका हुन् । उनीहरूविरुद्ध भने मुद्दा नचलाउन राय दिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेसँगै उनीहरूलाई छाड्न लागिएको हो । प्रहरीले मुद्दा चलाउन राय नदिएको भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध भने आइतबार नै मुद्दा दर्ता भएको छ । सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो माग दाबी हुनेछ । त्यसमा ब्रेक प्याडको भन्सार समेत जोडेर थप २८ लाख ७५ हजार बिगो माग दाबी समेत गरेको छ । जस अनुसार कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाछ हुने श्रोतले जनाएको छ ।

प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । अहिले मिसिल रुजु भइरहेको र आजै मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७