आजको दिन ऐतिहासिक महत्वको : उपसभामुख


३ आश्विन २०८०, बुधबार
IndiraRanaMagar1 20230121171332

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहेका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

‘जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता हुनुभएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको योगदानको उच्च सम्मान गर्दछु । नेपालको संविधान निर्माणमा विशिष्ट भूमिका खेल्नुहुने राजनीतिक नेतृत्व, संविधानसभा सदस्य, नागरिक अगुवा, सञ्चार जगत्लगायत आमनागरिक सबैमा हार्दिक आभार व्यक्त गर्दछु’, सन्देशमा उनले भनेकी छन् ।

आजको दिन ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धि नेपालको संविधानको दस्तावेजका रूपमा संस्थागत भएको दिन हो । नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने विश्वास लिएको उनले बताएकी छन् ।

विभिन्न ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालगायतका उपलब्धिलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गरिएको उल्लेख गर्दै उपसभामुख रानाले नागरिकका मौलिक हक, अधिकार र स्वतन्त्रता पनि संविधानले सुनिश्चित गरेको बताएकी छन् ।

‘संविधान जारी भएको आठ वर्षको अवधिमा सङ्घीय संसद्ले थुप्रै ऐन, कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको छ । सङ्घीयता कार्यान्वयनका लागि आवश्यक केही कानुन बन्ने क्रममै छन् । संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय भइरहने छ’, उनले सन्देशमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७