रोकिएन बाल विवाह : गुल्मीमा चार सय किशोरी उमेर नपुग्दै आमा


४ आश्विन २०८०, बिहीबार
Mother
फाइल फोटो

गुल्मी । गुल्मीमा किशोरीमै आमा बन्नेको संख्या करिब चार सय पुगेको छ । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।

उनका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने र १९ वर्षमै दुई सन्तान जन्माइसकेमा हुन्छन् । २० वर्ष उमेर नपुग्दै विवाह गरेका कारण विवाह दर्ता गराउन पनि नमिल्ने उनको भनाइ छ ।

कार्यालयको तथ्याङ्कअनुसार तीन हजार पाँच सय ३४ आमाहरुले गर्भवती भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएका छन् । तीमध्ये २० वर्षमुनिका मात्र तीन सय ८१ जना रहेको तथ्याङ्क व्यवस्थापक मदन पालले जानकारी दिनुभयो । २० वर्ष नपुग्दै किशोरी आमा बन्नेमा सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा छन् ।

दुवै नगरपालिकामा ५२र५२ जना किशोरी आमा छन् । मदाने गाउँपालिकामा ४०, सत्यवतिमा ३८, धुर्कोटमा ३५, इस्मामा ३३, चन्द्रकोटमा २६, मालिकामा २१, गुल्मी दरबारमा १९, रुरुक्षेत्रमा १२, कालीगण्डकीमा १७ र छत्रकोटमा ६ जना रहेका छन् ।
जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार कूल तीन सय ५१ जना २० वर्षमुनिका आमा रहेको कार्यालयले जनाएको छ । सामाजिक अभियान्ता तथा अधिवक्ता हीरा कुँवरले २० वर्ष नपुग्दै विवाह गर्ने आमाको सङ्ख्या बढ्नु चिन्ताजनक रहेकाले सचेतना आवश्यक रहेको बताइन् ।

मुलुकी देवानी संहिता, २०७४ मा महिला र पुरुषबीच विवाह हुनुपर्ने उमेर २० वर्ष तोकिएको छ । कानुनअनुसार कम उमेरमा विवाह गरे विवाहा नै बदर हुनेदेखि तीन वर्ष कैद र रु तीस हजार जरिवानासम्मको व्यवस्था गरिएको छ । कम उमेरमा विवाहलाई रोक्न समुदाय र विद्यालयस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

कम उमेरमा गर्भवती हुँदा बच्चा खेर जाने, समय नपुग्दै बच्चा जन्मिने, बच्चालाई क्षारे हुने, आमाको पाठेघरको मुख च्यातिने, बढी रक्तस्राब हुने र बच्चा जन्मिसकेपछि आमालाई मानसिक समस्या उत्पन्न हुने जोखिम हुन्छ । बाल विवाहको न्यूनिकरणका लागि स्थानीय सरकारले न्यूनीकरणका लागि किशोरकिशोरी केन्द्रित कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७