आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई


४ आश्विन २०८०, बिहीबार
Narayankaji 6
फाइल फोटो

काठमाडौं । आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षामन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसको जानकारी गराएका हुन् । शिक्षकहरूले आवश्यकता भन्दा धेरै शर्त राखिरहेको बताएका खड्काले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले राखेको कुरा बाहिर नआओस् भन्दै धारणा राखेका थिए । तर, नजिक बसेकाहरूले बैठक लाइभ भएको जानकारी गराएपछि बाहिर राख्न सहज हुने विषय मात्र राखेका थिए ।

‘उहाँहरूसँग शिक्षा दिवसका दिन मेरो भेटघाट भएको थियो । प्रधानमन्त्री नभएकाले शिक्षा दिवसको कार्यक्रममा म नै गएको थिए । मैले त्यहाँ गुरुहरू आन्दोलनमा हुनुहुन्छ । अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पुरा गर्न सकिन्छ भनेको थिए’, रक्षामन्त्री खड्काले भने, ‘हामीले संविधान दिवसको दिन विज्ञप्ति जारी गरेर महासंघका नेताहरूलाई शिक्षा सचिवले ह्वाट्सएपमा पठाउनु भएको थियो । तर, उहाँहरू वार्ताका लागि तयार हुनु भएन ।’

उनले यति भनिसक्दा बैठक लाइभ भएको थाहा पाएपछि शिक्षकहरूको आन्दोलन पूर्व निर्धारित भएकाले वार्तामा नआएको हुनसक्ने बताए । उनले त्यसपछि आफूले वार्ता गरेको भन्दै त्यो वार्ता पछि शिक्षकहरूले मन्त्रीसँग वार्ता नगर्ने शर्त राखेको बताए । ‘उपप्रधानमन्त्रीसँग वार्ता गरिसकेपछि अब मन्त्रीसँग वार्ता हुँदैन भन्नुभयो’, खड्काले सुनाए, ‘त्यसपछि मैले नै प्रधानमन्त्रीसँग कुरा राखे र वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाउनु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७