बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै


८ आश्विन २०८०, सोमबार
Pahiro dojar bhim datta rajmarga
सांकेतिक तस्वीर

चितवन । चितवनको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो ।

भरतपुर महानगरपालिका– २ मा बाँझो रहेको जमिनको तथ्याङ्क लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो । वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्याङ्क मागिएको थियो । तीमध्ये १० वटा टोलको जमिनको तथ्याङ्क आइसकेको छ । तथ्याङ्क प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा आजदेखि डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ ।

उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ । आमासमूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गा धनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो ।

वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारी खेतीका लागि संस्थागतरुपमा जग्गा माग्ने क्रम समेत सुरु भएको छ । क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन सङ्घसंस्थालाई खेतीका लागि दिइनेछ । यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन । रानाभाटले भने, ‘हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउदैछौँ ।’ जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ । बाँझो जमिनको झाडी फाडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७