कहाँ–कहाँ छ आज वर्षाको सम्भावना, नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?


१५ आश्विन २०८०, सोमबार
rain 1

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

औसत मितिअनुसार नेपालबाट मनसुन बाहिरिने दिन आज (अक्टोबर २) हो । तर, यो वर्ष नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ । अक्टोबर २ औसत मिति भएकाले योभन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिने सम्भावना हुन्छ । यो वर्ष औसतभन्दा ढिलो मनसुन बाहिरिने भएको हो ।

‘यो वर्ष मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । न्यूनतम तीन–चार दिन ढिलो हुने भएको छ’, मौसमविद् बरुण पौडेलले भने, ‘नेपालबाट मौसम बाहिरिने क्रम अझै सुरु भएको छैन ।’ नयाँ प्रणाली विकास भएर केहीदिन यता देशका केही भागमा वर्षा भइरहेको उनको भनाइ छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन । भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेको मौसमविद् पौडेल बताउँछन् । मनसुन बाहिरिनेक्रम क्रमशः नेपालतर्फ सर्दै जाने उनी बताउँछन् । गत वर्ष औसत मितिभन्दा १३ दिनपछि मनसुन असोज २९ (१५ अक्टोबर) मा बाहिरिएको थियो । यो वर्ष जेठ १३ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७