कास्कीको किम्रोङखोला १५ घण्टादेखि थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह


२१ आश्विन २०८०, आईतवार
Kimrong Khola Kaski 1696747451

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गए राति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ ।

‘गए राति किम्रोङखोला पहिरोले थुनिएको हो, अहिले १५ घण्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ, एक्कासी फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन खबर गरेका छौँ’, उनले भने । किम्रोङखोला वडा नं ७ र ११ को सीमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ ।

मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए । सम्बन्धित वडाका जनप्रतिनिधि र बिरेठाँटी तथा नयाँपुलमा रहेको प्रहरी चौकीमा खबर गरी नदी थुनिएको जानकारी सबैमा प्रेषित गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७