अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको संख्या दुई हजार पुग्यो


२१ आश्विन २०८०, आईतवार
Earthquake afganstan

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार पुगेको छ । हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार पुगेको सरकारी अधिकारीहरुले जनाएका छन्।

अफगानिस्तानको राजधानी हेरातबाट ३० किमी उत्तरपश्चिममा गएराति ६ दशमलव ३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । ‘दुर्भाग्यवश, हताहत हुनेको संख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले भनेका छन् ।
भूकम्पपछि भत्किाएका संरचनाको भग्नावशेषमा फसेकाहरुको उद्धारको प्रयास भइरहेको अधिकारीहरुको भनाई छ । भूकम्पबाट मृत्यु हुनेको संख्या अझ बढ्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । भूकम्पको केन्द्रविन्दु नजिकै पर्ने गाउँका सयौँ घर भत्किएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता भएसँगै अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसंख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भू-भाग अक्सर भूकम्पको चपेटामा पर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७